२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

मुख्यमन्त्री पोखरेल पुल शिलान्यास गर्न रोल्पा आउन लागेको भन्दै प्रचण्ड–माधव समूहको विरोध

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनको असर विकास निर्माणका काममा समेत देखिन थालेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् ओली समूहका नेता शंकर पोखरेल बनिरहेको पुल शिलान्यास गर्न रोल्पा आउन लागेको भन्दै प्रचण्ड–माधव समूहले विरोध गरेको छ ।

सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुल शिलान्यास गर्न मुख्यमन्त्री शंकर पोखरेल रोल्पा आउन लागेको प्रदेशसभा सदस्य एवम् नेकपाका रोल्पा इन्चार्ज दीपेन्द्र पुन (सिजल) ले बताए । प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरी शुक्रबारै लिवाङ आइसकेका छन् ।

सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक राज जेभीबीच गत असोजमा निर्माण सम्झौता भएर पुल निर्माण कार्य जारी रहेको उक्त कार्यालयका प्रमुख नवीनकुमार श्रेष्ठले जानकारी दिए । लिवाङ र रोल्पा नगरपालिका–९ लाई पक्की सडकसँग जोड्ने उक्त पुलको ७ मंसिरदेखि निर्माण कार्य सुरु भएको थियो । उनका अनुसार २५ प्रतिशत काम सम्पन्न भएर निर्माण पक्षलाई भ्याटसहित ५ करोड ६१ लाख रुपैयाँ भुक्तानीसमेत दिइसकिएको छ ।

तीनवटा पुलको शिलान्यास गर्न मुख्यमन्त्री पोखरेल रोल्पा जान लागेको उनको सचिवालयले जनाएको छ ।

सामान्यतया कुनै पनि विकास कार्यको शिलान्यास गरेपछि निर्माण सुरु गरिन्छ । तर, निर्माण कार्य सकिने चरणमा रहेको पुलको शिलान्यास गर्ने बहानामा आफ्नो गुट भेला आयोजना गरेको भन्दै प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ ।

प्रचण्ड–माधव समूहका नेता पुनले गुट भेलाका नाममा बोलाउँदा जनता उपस्थित नहुने भएपछि बन्दै गरेको पुल शिलान्यासको बहानामा ओली गुटको भेला आयोजना गरिएको टिप्पणी गरे । ‘उहाँहरुका पक्षमा जनता छैनन्, गुटको कार्यक्रम भन्दा कोही आउँदैनन्’, पुनले भने, ‘सरकारका साधनस्रोत दुरुपयोग गरेर विकासका नाममा झुक्याएर मानिस बोलाउने र आफ्नो गुट विस्तार गर्ने प्रयास भएको छ ।

निर्माण सम्पन्न भएर उदघाटन गर्नुपर्ने पुलको तामधामसहित शिलान्यास गर्न लागिएको भन्दै पुनले आपत्ति जनाए । उनले यसअघि मुख्यमन्त्री पोखरेल सहभागी ओली समूहको जिल्ला भेलामा ४३ जना सहभागी भएको भन्दै गुट निर्माणका लागि पुल शिलान्यासको बहाना गरिएको टिप्पणी गरे ।