आगोले जलेर मोरङको रतुवामाई नगरपालिकाकी एक महिलाको सोमबार दिउँसो मृत्यु भएको छ। घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि ल्याइएकी रतुवामाई–४ आमबारीकी ४९ वर्षीया फूलकुमारी राजवंशीको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।
उनकाअनुसार आफ्नै घरमा बालेर ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किएर शनिबारसाँझ ६ः२० बजेतिर फूलकुमारी घाइते भएकी थिइन्। तत्काल उद्धार गरेर उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइयो। घटना भएको दुई दिनपछि कोसीमै उपचारका क्रममा सोमबार दिउँसो २ः३० बजेतिर राजवंशीको मृत्यु भएको जानकारी एसपी खड्काले दिए।
कपडाबाट सल्किएको आगोले कम्मर मुनिको भाग जलेर उनी घाइते भएकी थिइन्।