हिमाली जिल्ला डोल्पामा भारी वर्षासँगै हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो।
जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ । त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकांश क्षेत्र हिउँले ढाकिएका छन्।
उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिँउ जमेको छ । हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर भएको छ ।
हिँउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन्।
मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ। हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ।
हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भएको छ। धावनमार्गमा बाग्लो हिउँ जमेका कारण बिहीबार सम्पूर्ण उडानहरु रद्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ। काठमाडौँ र नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसकेको प्राधिकरणको भनाइ छ।