सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले ८ जना खेलाडीको नाम सिफारिस गरेकामा सन्दीप मात्र अक्सन सूचीमा परेका हुन्।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बिहीबार सार्वजनिक गरेको सूचीमा नेपालबाट सन्दीप मात्र परेका हुन्।
क्यानले सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिको थियो।
सूचीमा २९२ खेलाडी परेका छन्। अक्सनका लागि १ हजार ११४ जनाको नाम दर्ता भएकामा २९२ लाई अक्सनका लागि सूचीकृत गरिएको बीसीसीआईले जनाएको छ।
नेपालबाट सूचीमा परेका सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु तोकिएको छ।
यसअघि सन्दीपले दिल्ली क्यापिटल्सबाट आइपीएलको तीन सिजन खेलिसकेका छन्।
अक्सन फेब्रुअरी १८ मा चेन्नईमा हुनेछ।