२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी गरेको छ ।

मन्त्रिपरिषद्ले गत सोमबार केन्द्रबाटै एसईई र शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र कायम गर्न स्वीकृति दिएको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार शैक्षिक सत्र लम्ब्याउने तयारी थालिएको हो ।

नियमावलीमा वैशाख १ गते नयाँ शैक्षिक सत्र सुरु हुने र चैत मसान्तमा सकिने उल्लेख छ । कोरोना महामारीले पठनपाठन प्रभावित भएकाले चालु शैक्षिक सत्रमा दुई महिना थप गर्न लागिएको हो । शैक्षिक सत्र लम्बिए विद्यालय तहका सबै कक्षाका वार्षिक परीक्षा जेठको अन्तिममा हुनेछ भने असारमा नयाँ शैक्षिक सत्र सुरु हुनेछ ।

शिक्षा सचिव गोपीनाथ मैनालीले मन्त्रिपरिषद्को निर्णयअनुसार नियमावली संशोधनको प्रक्रिया सुरु गरिएको जनाए ।

कोरोनाले शैक्षिक क्षति भएका कारण चालु शैक्षिक सत्रलाई १४ महिनाको बनाउनुपर्ने र आगामी शैक्षिक सत्रलाई १० महिनाभित्रै सिध्याउनुपर्ने सुझाव शिक्षाविद्हरूको छ । आगामी शैक्षिक सत्रको हिउँदे र बर्खे बिदासमेत कटौती गरेर शैक्षिक सत्र पूरा गर्न मन्त्रालयमा छलफल चलिरहेको छ ।

परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आवेदन संकलन गरिरहेको छ । परीक्षाका लागि आवेदन दिने म्याद फागुन ६ गतेसम्म तोकिएको छ । कोरोनाका कारण कक्षा ९ मा पढेभन्दा फरक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सोही विद्यालयबाट एसईईमा सहभागी हुन पाउने व्यवस्था गर्न लागिएको हो ।