झापाको भद्रपुरमा श्रीमानले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार भद्रपुर – ७ बुथकरण चिया बगानको १० नम्बर क्वार्टरमा बस्ने ५८ वर्षीय साहेबा उराउले ६० वर्षीया श्रीमती फिल्सिता उराउलाई सोमबार दिउँसो ढुंगाले हानेका थिए।
साहेबाले सामान्य विषयमा विवाद हुँदा श्रीमतीलाई टाउकोमा ढुंगाले हानेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
श्रीमानको ढुंगा प्रहारबाट गम्भीर घाइते फिल्सिताको मंगलबार बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका श्रीमानले प्रहरीलाई दिएको प्रारम्भिक बयान अनुसार मदिराको विषयमा श्रीमान श्रीमतीबीच विवाद भएको थियो।