दाङमा प्रहरीले ६ केजी बढी लागुपदार्थ अफिमसहित एक जनालाई पक्राउ गरेको छ । लागुपदार्थ औषध अफिम आउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी निरिक्षक मोहनजंग बढाथापाको नेतृत्वको प्रहरी टोलीले घोराही उपमहानगरपालिका–१९ दुईखोजीबाट रोल्पा थवाङ गाउँपालिका–५ निवासी ३८ बर्षीय प्रकाश घर्तिलाई पक्राउ गरेको हो ।
पक्राउ परेको अफिमसहित अभियुक्तलाई प्रहरीले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । प्रहरीले सुराकीको आधारमा खानतालासी गर्दा घर्तीले झोलामा ८ वटा पोका बनाई राखेको अवस्थामा लागुपदार्थ अफिम बरामद गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एपी गणेश चन्दले जानकारी दिएका हुन ।
‘रोल्पाबाट लागुपदार्थ औषध भित्रदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी टोली गरिएको थियो’–प्रहरी प्रमुख सिंहले भने–‘सुराकीको आधारमा खटिएको प्रहरी टोलीले छानविनका क्रममा सोमवार अफिमसहित पक्राउ गरेको हो ।’ अफिमसहित प्रहरीले एक थान मोवाइल, प्रकाश घर्ति लेखिएको आईडी कार्ड समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन ।