२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

प्रचण्डको सुरक्षामा तालिमप्राप्त पूर्वलडाकु खटिए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सुरक्षामा तालिमप्राप्त पूर्वलडाकु खटिएका छन्। सरकारले पूर्व पदाधिकारीहरूलाई उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लगेपछि प्रचण्डको सुरक्षामा पूर्वलडाकुखटिएका हुन्।

अध्यक्ष प्रचण्डको सुरक्षामा प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा पूर्व लडाकुको टोली खटिएको पूर्वलडाकु समेत रहेको नेकपा केन्द्रीय सदस्य युवराज दुलाल ुशरदुले जानकारी दिएका छन्‌।

‘उहाँहरू पहिले पूर्व लडाकु हुनुहुन्थ्यो, अहिले युवा संघमा हुनुहुन्छ,’ उनले भने, ‘युवा संघको तर्फबाट उहाँहरूलाई स्वयंसेवकको रूपमा राखिएको छ।’ सुरक्षा चुनौति रहेको बेला सरकारले नियतवश सुरक्षाकर्मीलाई फिर्ता लगेपछि युवा संघले अध्यक्षको सुरक्षामा पूर्वलडाकु खटाएको दुलालले बताए।

‘उहाँहरू युवा संघमा भएपनि अनुभव प्राप्त लडाकु नै हुनुहुन्छ, करिब १५ जनाको टोली खटिनुभएको छ,’ उनले भने, ‘सरकारले गलत नियतले सुरक्षाकर्मी फिर्ता लगेकाले आवश्यकताअनुसार यो संख्या पछि थपिनपनि सक्छ।’

प्रचण्डलाई नेपाल प्रहरीबाट डीएसपीको कमानमा २६ र सशस्त्रबाट इन्सपेक्टरको कमान्डमा ४७ सुरक्षाकर्मी तैनाथ थिए। तर, सरकारले पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने निर्णय गरेपछि प्रचण्डको सुरक्षामा अहिले १८ जना मात्रै छन्‌। ५५ सुरक्षाकर्मी सरकारले फिर्ता लिएको छ।