२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

आउँदो आर्थिक वर्ष कृषि गणना

नयाँ आर्थिक वर्षमा कृषि जनगणना हुने भएको छ । हरेक १०/१० वर्षमा हुने कृषि गणना आउँदो आर्थिक वर्षमा हुन भएको हो ।

कृषि जनगणना नेपालमा वि स २०१८ वाट सुरु भएको थियो । आउँदो वर्षमा हुने कृषि गणना ७औं कृषि गणना हो । जिल्ला तथ्यांक कार्यालयल दाङले बुधवार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय कृषि गणना २०७८ सन्दर्भमा सरोकारवालाहरुसँग छलफल गरेको छ । कार्यक्रममा तथ्यांक कार्यालय दाङका प्रमुख तुलसीराम पोख्रेलले कृषि गणना आउँदो आर्थिक बर्षमा हुने बताए ।

आउँदो आर्थिक वर्ष २०७८/०८९ पुष महिनादेखि फागुनसम्म तराई र पहाडमा र २०७८/०७९को बैशाखदेखि असारसम्म हिमाली क्षेत्रमा गणना हुने उनले बताए । कृषि गणनाका लागि देशभरमा १ हजार ५ सय सुपरिवेक्षक र ६ हजार गणक परिचालन हुने भएका छन् । छनोट विधिका आधारमा गणना हुने पोख्रेलले बताए । ३ लाख २५ हजारदेखि ३ लाख ५० जनासँग तथ्यांक संकलन गरिने भएको छ ।

यस वर्ष हरेक पालिकाहरुको अनुसार विवरण उपलब्ध हुने गरी काम गरिने उनको भनाइ छ । कृषि गणनालाई प्रविधिको प्रयोग गरेर अगाडि बढ्ने योजनासमेत लिएको प्रमुख पोख्रेलले बताए । यसरी लिने तथ्यांकले देशको नीति बनाउन महत्वपूर्ण सहयोग पुग्ने उनको विश्वास छ । जसले गर्दा कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिन सहयोग पुग्नुको साथै यसको विकासमा समेत सहयोग पुग्ने उनले बताए । तथ्यांकको आधारमा नै हरेकको अवस्थाको बारेमा जानकारी लिन सकिने छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले नेपाल कृषि प्रधान देश भएकाले यसको विकासमा लागी यस्ता तथ्यांकले भूमिका खेल्ने बताए । उनले परम्परादेखि गरिँदै आएको कृषिलाई आधुनिकीकरण गरिनुपर्ने बताए । ‘कृषिलाई आधुनिकीकरण गर्न आवश्यक छ’, प्रमुख नेपालीले भने– ‘कृषिलाई थोरैमा भन्दा पनि धेरैमा गर्न आवश्यक छ ।’ प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तथ्यांकले नीति, योजना निर्माण गर्न महत्वपूर्ण सहयोग पुर्याउने बताए ।

त्यसका लागि सही सूचना हुन आवश्यक रहेको बताए । ‘सही सूचना नहुँदा बनाइएको योजनाहरु सफल हुन सक्दैनन्’, प्रमुख जिल्ला अधिकारी आचार्यले भने । सरकारले थालेको सूचना लिने कार्यमा सहयोग गर्न समेत आग्रह गरे । ‘सबैको सहयोगमा नै सरकारले ल्याउने राज्यले ल्याउने लक्ष्य पूरा हुने हो’, उनले भने । कार्यक्रमको सहजीकरण कार्यालयका सुररिवेक्षक नरेन्द्र भटले गरेका थिए । कार्यक्रममा सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता थियो ।