२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

घोराहीका एक शिक्षक आफ्नै घरको आँगनमा मृत फेला

घोराहीका एक शिक्षक घरको आँगनमै मृत फेला परेका छन्।

घोराही उपमहानगरपालिका वडा नं. १० सौंडिकुलाका ४३ वर्षीय श्रीधर घिमिरे शुक्रबार बिहान घरको आँगनमा मृत फेला परेका हुन्।

उनी मावि लमडरुवाका सहायक प्रधानाध्यापक हुन्।

जिल्ला प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार घिमिरे बिहीबार राति घरमा एक्लै थिए। उनकी श्रीमती र बच्चा माइती गएका थिए।

घिमिरेको राति आफ्नै घरको दोस्रो तल्लाबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको डिएसपी रिजालले बताए।

घिमिरेको कोठामा मदिरा समेत फेला परेको हुँदा मदिरा सेवनपछि शौचालय जाने क्रममा उनको लडेर घटनास्थलमै मृत्यु भएको देखिन आएको डिएसपी रिजालले जानकारी दिए।

उनका अनुसार शव नियाल्दा गाला धस्सिएको र नाक, मुखबाट रगत आएको देखिएको भए पनि अन्त कतै शरीरमा चोटपटक देखिएको छैन।

मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको हुँदा रिपोर्ट प्राप्त भएपछि मात्रै तथ्य कुरा भन्न मिल्ने प्रहरीले जनाएको छ।