म्यान्मारको सेनाले चलाएको गोली लागेर सात सरकार विरोधी प्रदर्शनकारीको मृत्यु भएको छ। सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको।
सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न माग गर्दै म्यान्मारको सबैभन्दा ठूलो शहर याङ्गुन समेत देशका सबैजसो शहरमा दिनहुँ ठुल्ठूला प्रदर्शन भइरहेका छन्।
यसै महिनाको शुरुमा सत्ता हत्याएपछि सेना र प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली, अश्रुग्यास र पानीका फोहोरा हान्ने गरेका छन्। जनताको शान्तिपूर्ण आन्दोलनलाई निर्मततापूर्वक दमन गर्न सेनाले व्यापक सैन्य परिचालन र धरपकड गरेपनि सेना विरुद्धको प्रदर्शन रोकिएको छैन।
आइतबार बिहान समेत ठूलो संख्यामा मानिसहरु सडकमा उत्रिएका थिए।सडकमा जतिसक्दो बढी मानिस उत्रिन अनलाइन मार्फत आम जनतालाई आह्वान गरिएको थियो।
स्थानीय सञ्चार माध्यमका अनुसार दक्षिणी डावेई शहरमा आयोजित जुलुसमा सहभागीमाथि सेना र प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएका छन् ।