शान्ति प्रक्रियामा आउने सहमतिसँगै पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज दिउँसो काठमाडौं आउँदैछन् ।
उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गरिएको छ ।
विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए । विप्लव विगतदेखि नै बेलबहादुरको घरमा बस्ने, नेताहरुसँग वार्ता गर्ने गर्दथे ।
उनी अमरापुरीका शहिद परिवारहरुलाई भेटघाट गरी शुक्रबार बिहानै काठमाडौंका लागि प्रस्थान गरे । ‘गोप्य रुपमा कसैलाई थाहा नदिई काठमाडौं जाने भन्ने तयारी थियो, तर प्रहरीले थाहा पाएर नारायणगढबाट स्कर्टिङ गरेको छ,’ विप्लव समूह निकट स्रोतले भन्यो । यद्यपि चितवन प्रहरी भने स्कर्टिङबारे खुल्न चाहेको छैन ।
करिब तीन वर्ष भूमिगत भएका विप्लव आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा सार्वजनिक हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनले सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोही समारोहमा सरकारसँग भएको सहमति पत्रमा विप्लवले हस्ताक्षर गर्ने छन् ।
सरकारसँगको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । साथै सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाएको छ भने पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइको प्रक्रिया अघि बढाएको छ ।