२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

आत्मरक्षाका लागि कराँते खेलमा किशोरीको आकर्षण

पछिल्लो समयमा किशोरीहरु विभिन्न अपराधिक घटनाबाट असुरक्षित हुँदै गएका छन् । किशोरीहरु माथि जबरजस्ती करणी तथा एसिड आक्रमण बढ्दै गएको छ । यी विभिन्न अपराधिक घटनाबाट सुरक्षित हुन किशोरीहरुले आत्मरक्षा तालिम लिन थालेका छन् ।

अहिले आत्मरक्षा सम्बन्धी कराँते खेलमा किशोरीहरुले चासो दिन थालेका छन् । कुनै बेला केटाहरुले मात्र कराते खेल खेल्ने गरेकोमा अहिले केटीहरु पनि कराते खेलमा चासो बढाएको प्रशिक्षकहरु बताउँछन् ।

दाङका विभिन्न स्थानमा आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन भईरहेको छ । देशमा किशोरी तथा महिलाहरुमाथि अपराधिक घटना बढ्दै गइरहेका बेला किशोरीहरुले कराते खेलमा रुची बढाएको कराँते खेलका प्रशिक्षक रेशम खड्काले बताए ।

शान्तिनगर गाउँपालिका वडा नं. १ नयाँबस्तीमा आफूले प्रशिक्षण दिदै आएको प्रशिक्षक खड्काले बताए । ‘पहिले भन्दा अहिले किशोरीहरुमा खेलप्रति चासो बढेको छ’, प्रशिक्षक खड्काले भने ‘आत्मरक्षाका लागि किशोरीले खेलप्रति चासो देखाउनु् राम्रो कुरा हो, सबैले खेलप्रति चासो देखाउनु पर्छ । अझ किशोरीहरुका लागि अनिवार्य छ ।’

आत्मरक्षा मात्र नभएर स्वास्थ्य, शारिरीक विकास, अनुशासनका लागि पनि खेल आवश्यक रहेको खड्काको भनाई छ । आफुले प्रशिक्षण गराउने स्थानमा खेल खेल्ने किशोरीको संख्या दिन प्रतिदिन बढ्दो रहेको उनि बताउँछन् ।