२०८० मङ्सिर २१ गते बिहिवार
२०८० मङ्सिर २१ गते बिहिवार

ईसेवाबाट अनधिकृत रकमान्तर गरेको आरोपमा दाङका खड्का पक्राउ

अर्काको ईसेवाको खाताबाट रकमान्तर गरी अनलाइन ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

अनलाइन ठगीमा संलग्न भएको आरोपमा दाङको तुल्सीपुर उपमहानगरपालिका–४ घर भई काठमाडौंको चावहिल बस्दै आएका २३ वर्षीय आशिष खड्कालाई भक्तपुरको सानोठिमीबाट प्रहरीले आइतबार पक्राउ गरेको हो ।

भेटघाट गरेर नजिक भएपछि विभिन्न बहानामा कम्प्युटर, ल्यापटप र मोबाइल हेर्ने र गुगल एकाउण्टको पासवर्ड थाहा पाएर ईसेवाको एकाउण्ट खोलेर अन्य व्यक्तिका खातामा अनधिकृत रुपमा रकम पठाउने गरेको पीडितहरुले उजुरी दिएका थिए ।

पक्राउ परेका आशिषलाई ठगी मुद्दामा आवश्यक कारबाहीका लागि महानगरी प्रहरी परिसर काठमाडौंमा पठाइएको जनाइएको छ ।