२०७९ मङ्सिर ११ गते आइतवार
२०७९ मङ्सिर ११ गते आइतवार

हुम्लामा लामो समयपछि हिमपात, हवाई उडान बन्द

फाइल तस्वीर ।

उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि सोमवारदेखि हिमपात भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ ।

आइतवार बिहानदेखि हुम्लामा बाक्लो बादल लागेसँगै सोमवार बिहान सात बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ । उत्तरी नाम्खा गाउँपालिकासहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बिहानैदेखिको हिमपातले हिमाल सेताम्मे देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको यहाँका स्थानीयवासीले बताएका छन् ।

हुम्लाको माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परिरहेको स्थानीयवासी शङ्कर रावलले जानकारी दिनुभयो । पुस, माघमा सोचेजस्तो हिमपात नभए पनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो निकै बढेको रावलले बताउनुभयो ।

बिहानैदेखि हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन चिसोले कष्टकर बनेको छ ।

साथै सोमवार बिहानैदेखि निरन्तर हिमपात हुँदा अन्तरजिल्ला जोड्ने एकमात्रै साधन हवाई यातायात बन्द भएको छ ।