२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

भागरथीको हत्या आरोप लागेका किशोरलाई सुधारगृह पठाइने

किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ का किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ।

सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको आरोप लागेको किशोरलाई पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिइएको हो।

कशोरलाई सरकारी वकिल कार्यालयले मङ्गलबार अदालत बुझाएको थियो।

अदालतले उनलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो।

किशोरलाई बुधबार डोटीमा रहेको सुधारगृह पठाउने तयारी गरिएको छ । गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रहरीले घटनाको अनुसन्धानपछि किशोरलाई फागुन ४ गते नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले जिल्ला अदालतबाट चार पटक ५र५ दिनका लागि म्याद थप गरेर थप अनुसन्धान गरेको थियो । किशोरले यसअघिनै आफूले बलात्कारपछि भागरथीको हत्या गरेको स्वीकार गरिसकेका छन् ।

यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो।

भागरथीको भेजाइनल स्वाब र किशोरको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको भए पनि रिपोर्ट आएको छैन।

-देशसञ्चारबाट