२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

दैलेखमा बस दुर्घटना : २ जनाको मृत्यु, १६ घाइते

कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

बिहीबार कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रही नायब उपरीक्षक अनुप श्रेष्ठले जानकारी दिए ।

बसमा सवार १८ जनामध्ये एकजनाको घटनास्थलमै र अर्का एकजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका(१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् ।

बसमा तीनजना प्रहरी पनि सवार रहेकोमा प्रहरी जवान रमेश चौधरी गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएकामध्ये ७ जना गम्भीर छन् । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ भने अन्य सामान्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।