२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, ५ जना घाइते

फाइल तस्वीर ।

ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि तमानखोला गाउँपालिका–१ पैरातर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा एक यात्रुको ज्यान गएको छ भने पाँच गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी वडा नम्बर २ की १४ वर्षीया मीना रसाइलीको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष थमबहादुर रोकाले जानकारी दिए । घटनास्थलबाट उद्धार गरी स्वास्थ्य संस्था ल्याउँदै गर्दा रसाइलीको ज्यान गएको उनको भनाइ छ ।

गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ । चालकसहित सात जना सवार रहेको उक्त पिकअप जीप बिहीबार अपराह्न वडा नम्बर १ को महभीरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा एक जना सकुशल रहेको जनाइएको छ ।

ट्याक्टरको टायर बोकेर गएको पिकअपले यात्रुसमेत चढाउँदा बढी भार भएपछि दुर्घटना भएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।