२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दैनिक २० घण्टा लोडसेडिङ !

हुम्लाको सदरमुकाम सिमिकोटमा दैनिक २० घण्टा लोडसेडिङ हुने गरेको छ ।

विद्युत् मर्मतका लागि बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन सकिरहेको छैन । विद्युत् प्राधिकरण कार्यालयमा कार्यरत कर्मचारीको चरम लापर्बाहीका साथै दक्ष कर्मचारी नहुँदा यहाँका नागरिकले बर्सेनि हिउँदयाममा लोडसेडिङको मार खेप्दै आउनुपरेको छ । एक कार्यालय प्रमुखबाहेक अन्य कर्मचारी सबै स्थानीयवासी भएका कारण मर्मतमा चासो नदिँदा समस्या भएको हो ।

विद्युतगृहमा पानीको स्रोत कम हुँदा विद्युत् उत्पादन क्षमतामा पनि ह्रास आएको र लोडसेडिङ दैनिकरूपमा बढ्दै गएको विद्युत् प्राधिकरण कार्यालय सिमकोटले जानकारी दिएको छ । हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टा लोडसेडिङ गर्दा सिमकोटमा सञ्चालित व्यवसाय धरापमा परेका छन् ।

विद्युत् आपूर्ति नभएपछि फर्निचर, इलेक्ट्रोनिक्सका सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको छ । सिमकोटमा यस्ता फर्निचर व्यवसाय सातवटा भएको र लोडसेडिङ बढेपछि ती सबै बन्द गर्नुपर्ने अवस्था आएको सिमकोटमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहेका नन्द सिंहले जानकारी दिनुभयो ।

-उज्यालो अनलाइनबाट