नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरुलाइ फिर्ता हुन निर्देशन दिने निर्णय गरेको हो ।
त्यस्तै बैठकले एमालेको केन्द्रीय कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदलाई पनि २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय गरेको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रमा रहेका नेताहरू रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्रीका रुपमा रहेका छन् । यीमध्ये गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन् ।
त्यस्तै चैत २ गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । चैत १ गते हुने भनिएको केन्द्रीय कमिटीको बैठक भने यथावत रहेको माओवादी केन्द्रले जनाएको छ ।