फाइल तस्बिर ।
वैद्य निकट माओवादी क्रान्तिकारी पार्टीका केन्द्रीय सदस्य ऋषिराम थारु बन्दुक र आखेटोपहारसहित पक्राउ परेका छन् ।
राप्तीसोनारी गाउँपालिका ५ जब्बरपुरका थारुलाई प्रहरीले शनिबार बिहान भरुवा बन्दुकसहित वन्यजन्तुका आखेटोपहारसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको नेतृत्वको टोलीले उनको घरमा शनिबार बिहान ९ बजे छापा मारेको थियो ।
उनको घरबाट प्रहरीले २ थान भरुवा बन्दुक, छोरा ओमप्रकाश थारुको घरबाट १ थान बारबोर बन्दुक र भाइ लालबहादुर थारुको घरबाट १ थान कटुवा पेस्तोल बरामद गरेको छ । त्यस्तै, बारुद १ किलो, सटगनमा लाग्ने खोका ५० थान पनि बराम गरिएको प्रहरीले जनाएको छ ।
उनको घरबाट ३ थान जरायोको सिंह, १० थान बँदेलका दाँत, ४ थान चित्तलको दाँत र दुम्सिको प्वाँख फेला पारिएको प्रहरी सहायक निरीक्षक थारुले बताए ।
पक्राउ परेका थारु २०७४ सालको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट प्रदेश सांसद् पदमा उम्मेदवारी दिएका थिए ।
-कान्तिपुरबाट