कोरोनाविरुद्धको खोप केही ठाउँमा अभाव भए पनि आत्तिहाल्नु नपर्ने विज्ञले बताएका छन् ।
जोखिममा रहेका वर्गलाई कोरोनाविरुद्धको खोप दिइरहेकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको विज्ञले बताएका छन् ।
सरकारले अहिले ६५ वर्षभन्दा माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप वितरण गरिरहेको छ । यस्तै, हिमाली जिल्लामा ५५ वर्षभन्दा माथिकालाई खोप दिइएको छ ।
जोखिममा परेका यी वर्गलाई खोप दिइन थालेकाले खोप अभाव भए पनि आत्तिनु नपर्ने खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले बताउनुभयो ।
उहाँकाअनुसार केन्द्रबाट विभिन्न पालिकामा १९ लाख डोज खोप पठाएकाले अहिलेको लक्षित समूहलाई खोपले धान्ने अवस्था छ । कहीँकतै लक्षित समूहबाहेकलाई खोप दिएको वा अनुमान गरेभन्दा धेरै खोप लगाउन पुगेकाले समस्या देखिएको हुन सक्ने उहाँको भनाइ छ ।
सरकारले गएको २३ गतेदेखि ६५ वर्षमाथिका नागरिकलाई खोप दिन अभियान चलाइरहेको छ । तर, खरिद गरेको खोप र कोभ्याक्समार्फत आउने खोपको टुङ्गो नलाग्दा खोप अभियान प्रभावित हुने देखिएको छ ।
यसैबीच, सरकारले यही महिनाभित्र भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरेको खोप नेपाल आउने जनाएको छ । कम्पनीले यही महिनाभित्र बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले जानकारी दिनुभयो ।