२०८१ साउन ३ गते बिहिवार
२०८१ साउन ३ गते बिहिवार

ओली र नेपाल समूहबीचको वार्ता निष्कर्ष विहीन

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको वार्ता निष्कर्षविहीन भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमवार भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकताबद्ध गर्दै अघि बढाउने प्रतिबद्धता जनाए पनि आ–आफ्ना अडानमा रहेपछि निष्कर्ष ननिस्किएको हो ।

गएको फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा पूर्ववत् रूपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयको प्रभाव शून्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो । त्यस प्रस्तावअनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापपछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो । तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेता नेपाल पक्षका नेताले दिएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किऔँ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रूपमा भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो । सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पूर्वएमालेको जुन पुरानो अवस्था हो यो अवस्थामा पार्टीको संरचना, पादधिकारी र सदस्य यथावत् स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौ । पार्टीलाई एकताबद्ध बनाउँ, आन्दोलनलाई पनि अरू पार्टीलाई पनि समेटेर लैजाने काम गरौँ भन्यौ । अरू कुरा भन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन ।’

नेता नेपाल पक्षका उपाध्यक्ष भीम रावलले पार्टी एकताबद्ध गरेर जाने विषयमा सबैको एकमत भए पनि सर्वोच्च अदालतको फैसलापछिका क्रियाकलापको प्रभाव शून्य बनाएर अघि बढ्ने विषयमा सहमति जुट्न नसकेको जानकारी दिनुभयो ।