२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

मन्त्री फर्काउन माओवादीको कार्यदल, भेटेरै छलफल गर्ने

पार्टी छाडेर एमाले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता ल्याउन नेकपा माओवादी केन्द्रले कार्यदल नै बनाएको छ। आज बसेको संसदीय दलको बैठकले तीन सदस्यीय कार्यदल बनाएको नेता वर्षमान पुनले जानकारी दिए।

पार्टीले नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरेको हो।

‘पार्टी छाडेर सरकारमा गएका मन्त्रीहरुलाई हामीले पत्र पठाएका छौं। स्थायी कमिटीको बैठकले २४ घण्टे समय पनि दिएको हो’ कार्यदल सदस्यसमेत रहेका नेता पुनले भने, ‘उहाँहरुलाई लिखित पत्र पठाएको भएपनि हामीले उहाँहरूसँग भेटेर एकपटक कुराकानी गछौँ। पार्टीमा फिर्ता ल्याउन पहल गछौँ।’

सरकारमा रहेका नेताहरु पार्टीमा नफर्के राजनीतिक दलको ऐनअनुसार स्वतः उनीहरुको पद खारेज हुने उनले बताए।

माओवादी नेताहरु गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र खेलकुदमन्त्री दावा लामा छन्।

नेकपा एकता भंग हुनुअघि नै पुष्पकमल दाहाल प्रचण्डलाई त्यागेर यी नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली खेमामा गएका थिए। तर, सर्वोच्च अदालतले नेकपाको एकता भंग गरिदिएर पार्टी पूर्ववत् अवस्थामा फर्काएको भएपनि उनीहरु एमालेमै रहने बताइरहेका छन्।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उनीहरु सबैलाई पार्टीको केन्द्रीय सदस्य मनोनित गरिसकेका छन्। तै पनि उनीहरुलाई पार्टीमा फिर्ता ल्याउनका लागि माओवादीले गृहकार्य थालेको हो।

-थाहाखबरबाट