नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ ।
वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण मिलिनसकेको प्रतिक्रिया दिनुभएको हो । उहाँले सभापति देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पार्नुभयो । यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको उहाँले बताउनुभयो ।
वर्तमान राजनीतिक अवस्थामा सरकारको नेतृत्वका सम्बन्धमा कांग्रेस किन स्पष्ट हुन नसकेको भन्ने प्रश्नमा उहाँले आफैँसँग भएको सांसद सङ्ख्या र अन्य दलभित्र भएको अन्तरकलह र त्यसको परिणामको स्पष्ट तस्बिरबाहिर आइनसकेकाले पार्टीले पनि धारणा तय नगरेको स्पष्ट पार्नुभयो । बिहीवार सानेपामा रहेको पार्टी कार्यालयमा एजेन्सीका प्रतिनिधिसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि पार्टी निर्णयमा पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जसलाई सत्ता चलाउन म्याण्डेट दिएको हो त्यो म्याण्डेट खण्डित भइसकेको अवस्था छ । सत्ता चलाउन नेपाली नागरिकले एमाले र माओवादीको गठबन्धनलाई दिएको हो । अहिले त्यो गठबन्धन पनि भत्कियो र नागरिकले दिएको त्यो म्याण्डेट पनि खण्डित भइसक्यो । अहिले उहाँहरूले हामीलाई नै दिएको भनेर भनिरहनुपर्ने, अडिरहनुपर्ने अवस्था बिल्कुलै छैन । त्यसैले नेपाली कांग्रेस पार्टीलाई पहिले प्रतिपक्षी बसेको थियो । अब सत्तामा जानै हुन्न भनेर भनिरहेको अवस्था हो भनेर हामी पनि मान्दैनौँ तर अब गणितीय रूपमा नेपाली कांग्रेस पार्टीले जबसम्म परिस्थिति सिङ्गोसिङ्गै दलहरू रहेर सुनिश्चित ढङ्गले नेपाली कांग्रेस पार्टीलाई नै प्रस्तावित गरेको अवस्था नबनिकन नेपाली कांग्रेस पार्टी प्रधानमन्त्री पदका लागि दौरासुरुवालमा चाँहि आइरन गरिहाल्ने बेला भएको छ भन्ने हामी मान्दैनौँ ।’
उहाँले कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र पनि अन्तरसङ्घर्ष चलिरहेको र उनीहरूले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रदेश १ र वाग्मती प्रदेशमा अविश्वासको प्रस्ताव आउँदा कतिपय साथीहरूले चाँडै निर्णय गरिहालौँ भन्नुभयो । निश्चय नै अविश्वासको प्रस्तावको पक्षमा हामी मत दिन्थ्यौँ होला तर त्यसबेला हामीले निर्णय गर्ने हतारो गरेको भए रु आखिर अविश्वासको प्रस्ताव त विधिवत्रूपमा गएन । त्यसैले अहिले प्रचण्डले नेतृत्व गर्नुभएको पार्टी जोसँग रहेको गणित पनि माधवजीहरू त फरक समूहमा हुनुहुन्छ र यतापट्टि जसपासँग रहेको गणित, त्यो गणित सम्पूर्ण रूपमा सङ्गठित भएर नै नयाँ समीकरणको सन्दर्भमा पुग्नेछ भन्ने कुरामा हामी विश्वस्त छैनौँ । त्यसैले त्यो नभइसकेको अवस्थामा हामीले संवाद नै नगरेको, छलफल नै नगरेको,नेतृत्व लिनेतर्फ अलिकति रुचि नै नराखेको र उदासिनता नै राखेको भन्ने चाहिँ होइन ।’
उहाँले वर्तमान राजनीतिक अवस्थाले नेपाली कांग्रेस पार्टीले सरकारको नेतृत्व खोजिरहेको भए पनि राजनीतिक गणित त्यो ढङ्गले विकसित नभएको तर्क गर्नुभयो । राजनीतिक वृत्तमा चर्चा भएजस्तो वास्तवमै प्रतिगमनतिर लैजाने प्रधानमन्त्रीलाई बिदाई गर्ने हो भने सबै दल प्रधान एजेण्डाका साथ आउनुपर्ने धारणा नेता शर्माले राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीको गणित संसद्को अविश्वासको प्रस्ताव दर्ता गर्न पुग्ने गणित होला तर अविश्वासको प्रस्ताव पारित गर्न पुग्ने गणितको साथ अरू दल त्यही रूपमा त्यही निर्णयका साथ आइहालेको अवस्था होइन । उहाँहरूले कमरेड केपी ओलीको विकल्प खोज्नु भन्ने एउटा कुरा भयो । तर विकल्प खोजुँ भनेर भन्दै गर्दा अगाडि सार्ने एजेण्डाहरू अर्को विषय भयो, त्यसकारण अन्य दलले पनि के प्रष्टता राख्नुपर्ने बेला भएको छ भने हामी साँच्चै प्रतिगमनतर्फ कदम चालेको प्रधानमन्त्रीजी, असंवैधानिक कदम चालेको प्रधानमन्त्रीजी, सत्तामा शासन गर्नका लागि नैतिक रूपमा गम्भीर प्रश्न उठिसकेको प्रधानमन्त्रीजीलाई बिदाई गर्ने कुरालाई प्रधान रूपमा राख्छौँ या यसपछाडिका हाम्रा एजेण्डालाई प्रधान रूपमा राख्छौँ भन्ने कुरामा चाहिँ अरू दलहरू पनि क्लियर भएर आउनुपर्ने अवस्था छ । त्यसकारण नेपाली कांग्रेस पार्टीले तुरुन्तै प्रधानमन्त्री लिने गरी हतारोमा छौँ भनेर जागरुकताका साथ गइहाल्ने कुराको हतारो गर्न हुन्न । नेपाली कांग्रेस पार्टीका सभापति स्वयंले भन्नुभएको छ– हामी हतारो पनि गर्दैनौँ, आइहाल्यो भने जिम्मेवारीबाट पनि भाग्दैनौँ ।’
प्रधानमन्त्री पदले नेपाली कांग्रेसको पार्टीको ढोका ढकढकाएको भए पनि त्यसका लागि आवश्यक पृष्ठभूमि भने तयार नभइसकेकाले सरकार गठनको सुनिश्चितताका लागि आवश्यक गणितीय कुरा नमिलेसम्म कांग्रेसले अग्रसरता नदेखाउने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री पदले नेपाली कांग्रेस पार्टीको ढोका ढकढकाएको छ । तर त्यसका लागि चाहिने पर्याप्त गणितको लागि चाहिने पृष्टभूमि र त्यहाँभित्रको वातावरण त्यही रूपमा विकसित नभइरहेको अवस्थामा नेपाली कांग्रेस पार्टी सत्ताको नेतृत्व त गर्ने तर नेतृत्व गर्नका लागि उपयुक्त गणितीय कुरा नपुगिसकेको अवस्थामा धेरै अग्रसरता नलिने भन्नेमा छ । यसको अर्थ हामी कुराकानी, छलफल र संवादमा कहीँ पनि छैनौँ भन्ने होइन । हामी केही न केही संवादमा आन्तरिक रूपमा छौँ । परिपक्व वातावरण बनाएर उचित गणितीय वातावरण बनाएर त्यसपछि सार्वजनिक रूपमा आउनेछौँ ।’