२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

बाँकेबाट १२ केजी चरेशसहित दुई युवा पक्राउ

कपिलवस्तुबाट सवा ३ लाखमा किनेर बाँकेमा बेच्न लगेको १२ केजी चरेशसहित दुई युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका वडा नं. ७ का २४ वर्षीय रूपबहादुर बुढा र रुकुम पूर्व भुमे गाउँपालिका वडा नं. ७ का २१ वर्षीय रवि पुन रहेको बाँकेका निमित्त प्रहरी प्रमुख सुवास खड्काले बताए।

उनीहरूलाई प्रहरीले चैत ११ गते बाँकेको कोहलपुर नगरपालिका वडा नं। १२ चप्पर गौरीस्थित न्यू सुदूरपश्चिम बाजुरा होटलको १०१ नम्बर कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता समेत रहेको खड्काले जानकारी दिए।

होटलमा प्रतिबन्धित लागुऔषध चरेशको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरूलाई १२ केजी चरेशसहित पक्राउ गरेको डिएसपी खड्काले बताए।

डिएसपी खड्काका अनुसार बुढा र पुनले उक्त चरेश कपिलवस्तुबाट प्रतिकेजी २७ हजारका दरले ३ लाख २४ हजारमा खरिद गरी बाँकेका लगेर बेच्न खोजेका थिए।

पक्राउ परेका दुईमध्ये रोल्पाका बुढा यसअघि पनि लागुऔषध कारोबारमा संलग्न रहँदै आएको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैविरूद्ध लागुऔषध कारोबार शीर्षकमा मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।