२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को संक्रमणबाट हुने जोखिम बढेर जाने सम्भावना देखिएकाले शिक्षक र विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापहरु सञ्चालनमा ध्यानाकर्षण गराएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बिहीबारको बैठकले शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको हो । मन्त्रालयले यसका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पालना गर्न र गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शमाले एक विज्ञप्ति सार्वजनिक गर्दै शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन पानीले हात धुने, ज्वारो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेका हुन् । विज्ञप्तिमा शिक्षण संस्थामा सभा, समारोह र वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु तत्कालका लागि नगर्न र नगराउन समेत अनुरोध गरिएको छ ।