नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा दाङमा सञ्चालन हुने भनिएको राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिता स्थगित भएको छ ।
खड्काको स्मृति दिवसको अवसरमा चैत्र १६ गतेदेखि २० गतेसम्म दाङको तुलसीपुरमा प्रतियोगिता सञ्चालन हुनेगरी तयारी गरिएको थियो । तर कोरोनाका कारण जिल्ला प्रशासन कार्यालय दाङले औपचारीक कार्यक्रमहरुलाई रोक लगाएपछि प्रतियोगीतालाई स्थगन गरिएको छ । आईतबार युथ अफ तुलसीपुरले पत्रकार सम्मेलन गरि दोस्रो चरणको कोभिड भाइरसको संक्रमण फैलिरहेको भन्दै प्रतियोगीता स्थगित गरेको जानकारी गराएको छ ।
युथ अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रममा युथ अफ तुलसीपुरका एडमिन अरुण लहरेले प्रतियोगीता सञ्चालनका लागि सम्पुर्ण तयारीहरु पुरा गरिसकेको भएपनि जिल्ला प्रशासनको निर्देशनलाई पालना गर्दै प्रतियोगीता हाललाई स्थगित गरिएको बताए ।
राष्ट्रिय स्तरको प्रतियोगितामा ४ लाख ६० हजार रुपैयाँ बराबरको नगद पुरस्कारको व्यवस्था र आठ विधामा प्रतिस्पर्धा गराउने गरी कार्यक्रम तय भएको थियो । दाङको चिनारी, विकासका अभिभावक खुम बहादुर खड्काको देनलाई सबैमाझ चिनाउनका लागि सञ्चालन गर्न लागिएको प्रतियोगीता प्रशासनको अर्को निर्देशन नआउँदा सम्मका लागि स्थगित गरिएको आयोजक टिमले जानकारी दिएको छ ।