२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु र नेविसंघको विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको खनाल–नेपाल पक्षको अनेरास्ववियु र नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घले सोमवार काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् ।

अनेरास्ववियु आबद्ध विद्यार्थीहरूले बबरमहलमा रहेको नेपाल नेपाल आयल निगमको कार्यालय अगाडि र नेविसङ्घ आबद्ध विद्यार्थीहरूले त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका हुन् ।

त्रिचन्द्र कलेज अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा तथा इँटा प्रहार गरेपछि स्थिति केही समय तनावग्रस्त बनेको थियो ।

अनेरास्ववियुले विरोध प्रदर्शनपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसमक्ष ज्ञापनपत्र पनि बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले मूल्यवृद्धिबाट लाखौँ विद्यार्थी मात्रै नभइ आम नागरिकलाई समस्या पर्ने भएकाले यसलाई स्वीकार्न नसकिने बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक पन्ध्र–पन्ध्र दिनमा मूल्य समायोजन गर्ने व्यवस्था अनुरूप मूल्यवृद्धि गरिएको बताउनुभयो । यद्यपि विद्यार्थीहरूको माग जायज भएकाले ज्ञापनपत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउने समेत उहाँले बताउनुभयो ।

निगमले आइतवार (गए) रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुईरदुई रुपैयाँ बढाएको थियो । नयाँ बिक्री मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय २० र डिजल तथा मट्टीतेल प्रतिलिटर समान एक सय तीन रुपैयाँ पुगेको छ ।