मनकामना केबलकार ६ दिनका लागि बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो ।
केबलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मत, सम्भारका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालीले जनाएको छ ।
चैत ३१ गतेदेखि फेरि नियमित सञ्चालनमा आउने कम्पनीले निकालेको विज्ञप्तिमा जनाइएको छ । यस अवधिभर चितवनको इच्छाकामना ४ चेरेसको बटम स्टेशनमा रहेको रेस्टुरेन्ट भने यथावत् सञ्चालनमा रहने प्रालीले जनाएको छ । २३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबलकार एनालगबाट डिजिटल प्रविधिमा जाने भएको हो ।
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालीले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालीले जनाएको छ ।