बर्दिया राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघलाई सदर चिडियाखाना, ललितपुरमा ल्याइएको छ । आइतबार साँझ निकुञ्जको टोलीले नियन्त्रणमा लिएको बाघलाई मंगलबार बिहान चिडियाखानामा राखिएको हो ।
यो बाघले आइतबार बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना गर्न हात्तीसहित गएका हात्तिसारमा कार्यरत कर्मचारीलाई बाघले आक्रमण गरेको थियो । गैँडा गणना गरेर फर्किने क्रममा हात्तीलाई नुहाइदिनुका साथै घाँस पनि जोहो गर्ने क्रममा बाघका आक्रमणमा परी गुडगाव बस्ने ३४ वर्षीय पुलिसराम थारूको मृत्यु भएको थियो ।
कार्यक्रममा वनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय निकुञ्ज छेउमै बस्ती भएकाले बर्दियामा मात्र १० किलोकिटर पर्खाल लगाउन आवश्यक देखिएको बताए । त्यसका लागि बजेट जोहो गर्न आफूले पहल गरिरहेको उनले जानकारी दिए ।