२०७८ बैशाख १० गते शुक्रवार
२०७८ बैशाख १० गते शुक्रवार

सरकारी कागजात किर्तेको आरोपमा एक जना वकिल पक्राउ

प्रहरीले सरकारी कागजात किर्ते गरेको आरोपमा एक जना वकिललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले काठमाडौंबाट सोमबार वकिल बद्रिप्रसाद पौडेललाई पक्राउ गरेको हो।

उनीविरूद्ध हेटौंडास्थित एक कम्पनीले २०७५ सालमै जाहेरी दिएको थियो। भक्तपुर चाँगुनारायण घर हुने उनी जाहेरीपछि फरार भएका थिए।

सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गर्न हामीले नियन्त्रणमा लिएका हौं, प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले भने,’हेटौंडाको एउटा कम्पनीमा भएको भवन र जग्गा आफ्नो नाममा लिएर कम्पनी रजिस्ट्रार कार्यालय, भूमि सुधार कार्यालय, मालपोत कार्यालय सबैबाट डकुमेन्ट मिलाएर चार जनालाई बेचेको र त्यसमा संलग्नता थियो।’

उनले ९ कठ्ठा ३ धुर जग्गाका कागजातहरू किर्ते गरी बेचेको भन्ने आरोप छ।

उनीमाथि प्रहरीले जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।