सांकेतिक तस्वीर ।
माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा एक ज्वाइँले सासु–ससुरामाथि खुकुरी प्रहार गरेर घाइते बनाएका छन् ।
दैलेख नौमुले गाउँपालिका ४ कालिकाको कुइने टोलका ६३ वर्षीय ससुरा झपिलाल रोकामगर र ५५ वर्षीया सासु लालसरी रोकामगरमाथि कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोकामगरले खुकुरी प्रहार गरेका हुन् ।
सोमवार घरमा सुतिरहेका सासु–ससुरामाथि खुकुरी प्रहार गरेर भागेको भन्ने सूचनाको आधारमा अनरामलाई नौमुले गाउँपालिका ५ चिसापानीबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक तथा सूचना अधिकारी इन्द्रजीत सुनारले जानकारी दिनुभयो । अनरामविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको उहाँले बताउनुभयो ।
खुकुरी प्रहारबाट घाइते झपिलाल र लालसरीको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।