२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कोरोनाविरुद्धको खोप सहज तरिकाले लगाउने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले नागरिकले सहज र सरल तरिकाले कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबारको बैठकमा कोभिड–१९ को सम्बन्धमा सरकारको तयारी र खोप सम्बन्धमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग छलफल गरेपछि खोप अभियानलाई सहज र सरल बनाउन निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले खोपको विषयमा अहिलेसम्म सरकारले राम्रो काम गरिरहेको भएपनि सबै नागरिकले खोप पाउने सुनिश्चितता गर्ने गरी थप कार्य गर्न निर्देशन दिइन् ।

कोभिड–१९ संक्रमण भएका बिरामीले अस्पतालमा सहजै आईसीयू र अक्सिजन पाउने सुनिश्चितता गर्न समेत समितिले निर्देशन दिएको छ । यस्तै कोरोनाको दोस्रो लहर आउने देखिएकाले अहिलेदेखि नै आइसोलेसन र क्वारेन्टिनको निर्माण गर्न र त्यसको व्यवस्थापनमा गम्भीर बन्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।

अस्पतालहरुमा दक्ष जनशक्ति व्यवास्थापन गर्ने कुरामा विशेष जोड दिएर अगाडि बढ्न पनि समितिले निर्देशन दिएको छ ।