२०८१ साउन ३ गते बिहिवार
२०८१ साउन ३ गते बिहिवार

चार मन्त्रीको सांसद पद खारेज


नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भएको छ ।

नेकपा माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई लेखेको पत्रअनुसार बिहीवारको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरी सांसद पदबाट मुक्त भएको बैठकलाई जानकारी गराउनुभएको छ ।

गएको सोमवार माओवादी केन्द्रले अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह, कैलाली ४ का लेखराज भट्ट र कैलाली ३ का गौरीशङ्कर चौधरीलाई पार्टीबाट निलम्बन गरिएकाले सांसदबाट पदमुक्त गर्न संसद् सचिवालयलाई पत्र पठाएको थियो ।

तत्कालीन नेकपालाई सर्वोच्च अदालतले खारेज गरेर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादीका चार सांसद एमालेमा प्रवेश गरेका थिए ।

नेकपा माओवादी केन्द्रले गएको मङ्गलवार चार जना मन्त्रीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो ।