उच्च अदालत तुलसीपुरको आयोजनामा ज्ञान ज्योती माध्यमिक विद्यालयमा कानुन बिषय अध्ययनरत कक्षा ११ र १२ का विध्यार्थीहरुको बिचमा न्यायिक संवाद कार्यक्रम सञ्चालन गरिएको छ । छिटो छरितो न्याय, सबैका लागि न्यायू भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै न्यायालयबारे सरोकारवाला पक्षको सुझाव, सल्लाह र प्रतिक्रियाबारे छलफल गर्ने कार्यक्रम अन्तर्गत यस्तो कार्यक्रम आयोजना गरिएको उच्च अदालत तुलसीपुरका उप रजिस्ट्रार मान बहादुर बिष्टले बताउनु भयो ।
माननिय न्यायाधिश ॠषिराम दवाडीको अध्यक्षतामा भएको न्यायिक संवाद कार्यक्रममा प्रमुख अतिथी माननिय न्यायाधिश रमेशराज पोख्रेलले न्यायिक संवाद कार्यक्रममा न्याय संपादन प्रक्रिया, नागरिक र सरोकारवालाको भूमिका तथा उच्च अदालतको सेवा प्रवाहबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा अदालतका रजिस्ट्रार यम बहादुर बुढामगरले न्यायपालिकाको चौथो पञ्चवर्षिय रणनीतिक योजना अन्तर्गतका निर्धारित क्रियाकलाप सञ्चालन भइरहेको बताउनु भयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य सुरेन्द्र जिसीले न्यायाधिशहरु संग विद्यार्थीहरुले यसरी अन्तक्रिया गर्न पाउनु खुशीको कुरा भएको र यसले उनीहरुको थप क्षमता अभिवृद्धि हुन सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा विद्यालयका सहायक प्राचार्य मनोज केसी, एकेडेमिक कोर्डिनेटर शरद गौतम, कानुन बिषयगत शिक्षक तुफानबाबु श्रेष्ठ, सोमराज केसी, उत्तम डांगी लगायतको सहभागिता रहेको थियो । न्यायिक संवाद कार्यक्रममा विद्याथीहरुले विविध कानुनी जिज्ञासाहरु राखेका थिए । कार्यक्रमको सहजिकरण उच्च अदालत तुलसीपुरका शाखा अधिकृत भुपाल भण्डारीले गर्नुभएको थियो ।