२०८० फाल्गुन १० गते बिहिवार
२०८० फाल्गुन १० गते बिहिवार

ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइनमार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ ।

अनलाइन सेवा प्रदायक संस्थाहरूबाट सीधै ट्राफिक जरिवाना भुक्तानी सुरु भइसकेको र त्यसैलाई निरन्तरता दिँदै अझ सहज, सरल र सुविधायुक्त बनाउन आजदेखि आफ्नै बैंक खाताबाट सीधै जरिवाना तिर्न सकिने गरी सेवा विस्तार गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यसअघि नै जानकारी दिएका थिए।

यसले आम सवारी चालकहरूलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनुपर्ने बाध्यताको अन्त्य हुनेछ भने ट्राफिक कार्यालयमा हुने भीडभाडमा समेत कमी आउने बताए।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टिभिआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआइएमएस( र सेवा प्रदायक संस्थाबीचमा आबद्ध भई रियल टाइममा सम्बन्धित बैंक खातामार्फत भुक्तान हुने गरी सिस्टम सञ्चालन गरेको महाशाखाले जनाएको छ।

आजदेखि थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सीधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ भने आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरूसँग समेत जोडिँदै जाने महाशाखाको योजना छ।

सम्झौता पत्रमा हस्तान्तरण कार्यक्रममा अनलाइन सेवा प्रदायक कम्पनी फोन पे प्रालिको तर्फबाट दिवस कुमार सापकोटा र नेपाल क्लियरिङ हाउस लि (कनेक्ट आइपियस) का मुन्नी राजभण्डारी तथा अन्य प्रतिनिधिको उपस्थिति थियो।

आगामी दिनहरूमा अनलाइन भुक्तानी प्रणाली सेवा सञ्चालनसम्बन्धी यस महाशाखाले निर्धारण गरेको मापदण्ड पूरा गर्ने अन्य सेवा प्रदायकलाई समेत आबद्ध गर्दै लाने योजना रहेको महाशाखाले जनाएको छ।