पर्वतको पैयुँ गाउँपालिकामा वनमा लागेको डढेले गाउँसम्म पुग्दा पाँच घर र १२ गोठ जलेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार शुक्रबार दिउँसो २ बजे जंगलमा डढेलो लागेको थियो। डढेलोले वडा नम्बर ६ को डाँडागाउँ बस्तीमा प्रवेश गरेपछि दुई घर र १२ वटा गोठ जलेर पूर्ण रूपमा भएका छन्। तीनवटा घरमा आंशिक क्षति भएको छ।
आगलागीमा परी मानवीय क्षति नभए पनि एउटा भैँसी, एउटा गाईको बाच्छा र एउटा बाख्रा मरेको पनि प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। इलाका प्रहरी कार्यालय हुवासबाट गएको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। तर‚ नियन्त्रणमा आउन नसकेपछि चण्डिका सशस्त्र प्रहरी बल कुस्मा, नेपाली सेनाको केबलजंग गुल्म कुस्मा, जिल्ला प्रहरी कार्यालय कुस्मा र स्याङ्जाको वालिङबाट समेत पुगेको प्रहरी टोलीले शुक्रबार राति ११ बजे आगो नियन्त्रणमा लिएका थिए।
आगो नियन्त्रणमा आइसकेकाले क्षतिको सम्पूर्ण विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।