नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको जित सुनिश्चित भएको छ । दाङ घर भएका पत्रकार विपुल पोखरेल नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा सुनिश्चित भएका छन् ।
शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन ।
तर पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् । दाङमा पनि पोखरेलको जितमा खुशीयाली मनाउन थालिएको छ । सामाजिक सञ्जालमा हिजो देखि पोखरेललाई बधाई दिन थालिएको थियो ।
निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका छन् । र, साँझ ५ बजे औपचारिक घोषणा हुनेछ । नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।