२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सुरक्षाकर्मीको गोली लागेर म्यानमारमा थप ८० प्रदशर्नकारीको मृत्यु

म्यानमारको सेनाले प्रजातन्त्र पुनर्बहालीका लागि आन्दोलन गरिरहेका प्रदर्शनकारीमाथि फेरि क्रुर दमन गरेको छ।असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स ९एएपिपी० का अनुसार शुक्रबार यंगुन सहरनजिकै भएको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तिमा ८० जना प्रदर्शनकारीको मृत्यु भएको छ। बागो शहरमा भएको उक्त घटनामा ठ्याक्कै कति मानिस मारिए भन्ने विस्तृत विवरण आउन बाँकी छ।

सुरक्षाकर्मीले लासहरूको चाङ लगाएर राखेको र मानिसहरूलाई प्रवेश निषेध गरेकाले मृतकको संख्या एकिन गर्न कठिन भएको एएपिपीले जनाएको छ।बागोमा शुक्रबार बिहानैदेखि गोली हान्न सुरू गरिएको थियो भने अपरान्हसम्म यो क्रम जारी थियो।सुरक्षाकर्मीको दमनबाट आत्तिएका सहरवासीले सहर छोड्न थालेका छन्।गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै म्यानमारको सेनाले फेब्रुअरी १ मा कूमार्फत सत्ता कब्जा गरेको थियो। त्यसयता भएका प्रदर्शनमा सेनाले नागरिकमाथि निर्मम दमन गरिरहेको छ।

एएपिपीका अनुसार सैनिक कूपछि सुरक्षाकर्मीको हातबाट ६ सय १८ जना नागरिकको मृत्यु भइसकेको छ। सेनाले भने अहिलेसम्म २ सय ४८ जना सर्वसाधारण र १६ जना प्रहरीको मृत्यु भएको बताएको छ।

यसैबीच सैनिक कूको विरोधमा रहेका आदिवासी विद्रोहीहरूको समूहले सान प्रान्तको एउटा प्रहरी चौकीमा आक्रमण गरेको छ। शनिबार बिहानै भएको उक्त आक्रमणमा परी १० जना प्रहरीहरू मारिएको म्यानमारका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।