घोराही उपमहानगरपालिकाले नयाँ बर्ष २०७८ को सुभारम्भ संगै फोहोरलाई मोहरमा बदल्ने र पूणर्सरसफाई युक्त नगर बनाउने अभियानको थालनी गरेको छ ।
उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउने कार्यक्रमको सुरुवात गरेको हो । गल्ने फोहोरबाट ग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरले जनाएको छ ।
उपमहानगरपालिकाले पलाष्टिक, गत्ता, कपडा लगाएतका फोहोर खरिद गर्न थालेको छ । उपमहानगरको सरसफाई व्यवस्थापन शाखाले आज नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले नगल्ने फोहोर खरिद गर्ने अभियानको सुरुवात गरेका हुन ।
कार्यक्रममा नगर प्रमुख चौधरीले गल्ने र नगल्ने फोहोरलाई पैसामा बदल्ने र पूणर्सरसफाई युक्त नगर बनाउने योजना रहेको बताएका छन । नागरिकहरुबाट फोहोर लिने र नगरले पैसा दिने गरि पूणर्सरसफाई अभियानलाई अघि बढाईएको उहाँको भनाई छ ।
सरसफाई व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा प्रमुख अरुण अधिकारी, साहित्यकार डा। लोकराज पराजुली, सरसफाई निरिक्षक हर्कबहादुर वली लगाएतले फोहोरको उचित व्यवस्थापन र आम्दानी सँग जोड्ने अभियानमा सहभागि हुन सबैलाई आग्रह गरेका छन।
पानीको बोतल प्रतिकिलो १० रुपैयाँ, सुर्तीजन्य बस्तुका खोल २ रुपैयाँ, कपडाका टुक्रा ५ रुपैयाँ र गत्ता तथा कार्टुनलाई १० देखी २० रुपैयाँ सम्म प्रतिकिलो खरिद गर्ने निणर्य भएको उपमहानगरले जनाएको छ ।
साथै सरसफाई व्यवस्थापन सँगै फोहोर खदिर गर्ने अभियानलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाले खर्कसिंह पुन, भक्तबहादुर डाँगी र रामप्रसाद पुनलाई सरसफाई स्वयसेवकको जिम्मेवारी दिएको छ ।