कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न एमालेले सांसदलाई ह्विप जारी गरेको छ। एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका १९ जना सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गुलाबजंग शाहले जानकारी दिए।बिहान ११ बजेबाट एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक दलका नेता यामलाल कँडेलको घरमा बसेको थियो। सचेतक शाहले पार्टीका सबै सांसद बैठकमा उपस्थित भएको जानकारी दिए।
यता, नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक बसिरहेको छ। १२ बजेदेखि जारी बैठकले मुख्यमन्त्रीका पक्षमा वा विपक्षमा मतदान गर्नेबारे निर्णय लिनेछ। कांग्रेस प्रदेश सभा सदस्य यज्ञबहादुर बिसीले अहिले बैठक चलिरहेको र कुनै निर्णय भइनसकेको जानकारी दिए।आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ। ३९ सदस्य रहेको कर्णालीमा २० सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन २० जना सांसद आवश्यक छ। अहिले प्रदेशसभामा माओवादी कांग्रेस र राप्रपा मिले पनि मुख्यमन्त्री शाहीलाई १ सांसद अपुग देखिएको छ।