२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

नवनिर्वाचित पदाधिकारीद्धारा पदभार तथा सपथ ग्रहण

नेपाल पत्रकार महासंघ दाङ शाखाका नवनिर्वाचित पदाधिकारीहले पदभार तथा सपथ ग्रहण गरेका छन् । शनिबार महासंघकै भवनमा एक कार्यक्रमका विच निर्वाचन समितिका संयोजक सुदिप गौतमले सपथ ग्रहण गराउनु भएको हो भने निवर्तमान अध्यक्ष सविन प्रियासनले नवनिर्वाचित अध्यक्ष दुर्गालाल केसीलाई पद हस्तान्तरण गर्नुभएको हो । पदभार ग्रहण पछि बोल्दै नवनिर्बाचित अध्यक्ष केसीले १५ बुँदे कार्य योजना प्रस्तुत गर्नुभयो । पत्रकारहरुको क्षमता अभिबृद्धीका तालिम देखी ज्येष्ठ पत्रकारलाई निर्वाह भत्ताको व्यवस्था गर्ने सम्मको कार्य योजना प्रस्तुत गर्नुभएको हो । पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि तालिमहरु सञ्चालन गर्ने, लेखन बृत्तिमार्फत फिचर सेवा प्रकाशन गरि पत्रकारितामा निरन्तरता र निखारता ल्याउने, लेखन बृत्तीसँग जोडेर वैज्ञानिक मापदण्डका आधारमा मात्रै पुरस्कार वितरण गर्ने योजना प्रस्तुत गर्नुभएको हो ।

त्यसैगरी, सदस्यता शुद्धिकरण गर्दै व्यवस्थित र जवाफदेही पत्रकारिताको विकास गर्ने, पत्रकार सुरक्षा कोष स्थापना गरी समस्यामा परेका पत्रकारलाई आपतकालिन सहायता उपलब्ध गराउने, ज्येष्ठ पत्रकार कोष स्थापना गरी पत्रकारितामै जीवन व्यतीत गरेका ज्येष्ठ पत्रकारलाई निर्वाह भत्ताको व्यवस्था गर्ने केसीले बताउनु भयो । कार्यक्रममा बोल्ने पत्रकारहरुले दाङको पत्रकारीतालाई नमूना बनाउने विषयमा सामुहिक प्रयासबाटै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।