सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए । उनले भने, ‘कोभिड नियन्त्रणसम्बन्धी आदेश जारी भएको छ । त्यसमा के–के पर्छन् भनेर पछि जानकारी हुनेछ । ‘त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको उनले बताए । मन्त्री साहका अनुसार अनलाइन कक्षा सञ्चालन हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
यसअघि शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न भनेको थियो । तर शिक्षा मन्त्रालयलाई निजी विद्यालय सञ्चालकहरूले अहिले नै विद्यालय बन्द गर्न नहुने भन्दै दबाब दिएपछि सरकारले के गर्ने भन्ने अन्योल थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको थियो । काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङलाई मन्त्रालयले अतिप्रभावित भनी वर्गीकरण गरेको थियो ।