२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

बाँकेका अस्पतालमा गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गरिने

बाँकेका अस्पतालमा बिरामीको चाप बढेपछि अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गरिने भएको छ। कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिभराउ भइसकेका कारण अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार कोरोना भाइरस सङ्क्रमित तर लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई स्थानीय तहका स्वास्थ्यकर्मीको निगरानीमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्ने गरी होम आइसोलेशनमा बसाइने भएको छ।

होम आइसोलेशनमा बस्न मापदण्ड नपुग्ने कोभिड सङ्क्रमितलाई स्थानीय तहले सञ्चालन गरेका आइसोलेशनमा राख्ने र पैसा तिरेर बस्न सक्नेका लागि विगतमा झैँ उपयुक्त व्यवस्था तथा मापदण्ड पुगेको होटलमा पेड आइसोलेशनको व्यवस्था गरिने स्रोत व्यक्ति वलीको भनाइ थियो। भेरी अस्पतालमा सञ्चालित १५ शय्याको कोभिड आइसीयू र १०२ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए।
उनका अनुसार १५ शय्याको कोभिड आइसीयूमा अहिले ४० जनालाई राखिएको छ। बिरामीको चाप बढेपछि अरू शय्यालाई पनि सघन उपचार कक्ष बनाइएको छ। कोरोनाका शङ्कास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रि–आइसोलेशन वार्डसमेत करिब भरिइसकेको छ। सङ्क्रमण फैलिने क्रम नरोकिए अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै खत्तम हुनसक्ने जोखिम छ। भेरी अस्पतालमा अहिले कोरोना सङ्क्रमित ४० जनालाई सघन उपचार कक्ष, सात जनालाई भेन्टिलेटर र ८२ जनालाई कोरोना स्पेशल वार्डमा राखेर उपचार व्यवस्था मिलाइएको डा. थापाले बताए। सामान्य अवस्थामा अस्पतालमा भीडभाड नगरिदिन, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्क अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखापरेमा एकान्तबास गर्न अनुरोध गरिएको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए।

एक हप्ता लकडाउन गर्न सिफारिश

कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बिहीबारदेखि सात दिन लकडाउन गर्न सिफारिश गरेको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मङ्गलबार बसेको बैठकले वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन गर्नुपर्ने सुझाव दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए।
उनका अनुसार बाँकेको कोरोना सङ्क्रमण दर अत्यन्तै तीव्र रूपले वृद्धि भएकाले स्वास्थ्य क्षेत्रका विज्ञको सुझाव तथा सङ्घीय सरकारबाट प्राप्त मार्गनिर्देश अनुसार विद्यालय, हेल्थ क्लब, पौडी पोखरी, मनोरञ्जनस्थल लगायत स्थान बन्द गर्नाका साथै जिल्लालाई लकडाउन गर्न सकिने छ।

उनले बाँकेवासीलाई कोरोना महामारीको सङ्क्रमणबाट आफू पनि जोगिन र अरूलाई पनि जोगाउनका लागि स्वास्थ्यका मापदण्ड पालना गर्दै आवश्यक पर्ने खाद्यान्नलगायत जोहो गर्न आग्रहसमेत गर्नुभयो। पछिल्लो समयमा केही दिनयता बाँके कोरोनाको केन्द्रविन्दु बनेको छ। सोमबार मात्रै एकैदिन ३२२ कोरोना सङ्क्रमित भेटिएका छन्।