२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बाँकेमा काेराेना संक्रमित उपचार गर्न अस्पतालमा शैयाकाे अभाव

बाँकेमा अस्वभाविक रुपमा संक्रमण फैलिदै गएकाे छ । दैनिक काेराेना संक्रमणित संख्या बढ्दै गएपछि अस्पतालमा शैयाकाे अभाव हुन थालेकाे छ । अहिले उपचारका लागि छुट्टाएर राखिएका शैयाहरु करिब भरिभराउ छन् । कोरोना संक्रमित बिरामीहरुको उपचार गर्दै आएको भेरी अस्पतालमा अहिले एउटा शैया पनि खाली छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाले सामाजिक सन्जाल मार्फत स्थिति नियन्त्रण बाहिर गएको बताउनु भएकाे छ ।
अस्पतालले कोरोना संक्रमित बिरामीहरुलाई भनेर छुट्टाएर राखेका सबै १४२ शैया भरिभराउ भएको र अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएको भन्दै डा.थापाले आफुहरु अहिले मुखदर्शक भएर बस्ने बाहेक केही गर्न सक्ने अवस्थामा नरहेको बताउँनुहुन्छ । आउँदा दिनहरु अझै भयावह हुने भन्दै मेसु थापाले सबैलाई आफ्नो ठाउँ बाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुहुन्छ ।
उता कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा.आसिम किदवाईले अस्पतालमा शैया अभाव भएको जनाउँदै सामाजिक सन्जाल मार्फत चिन्ता व्यक्त गर्नुभएको छ ।
शैया खाली नरहेको भन्दै डा.किदवाईले तयारी गर्नुपर्ने बेला वास्ता नगर्नु र अहिले स्थिति नियन्त्रण बाहिर गएपछि तयारी गर्दा ढिलो भैसक्ने बताउँनुहुन्छ ।
कोरोना संक्रकित बिरामीहरुको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मीहरु स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित छन् । बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले निरन्तर संक्रमित संख्या बढिरहेको भन्दै अस्पतालमा बेड थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित जरुरी रहेको बताउनुहुन्छ । स्थानिय प्रशासनले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि आजदेखि नेपालगन्ज उपमहानगरपालिका लकडाउन गरेको छ ।