२०८१ असार २९ गते शुक्रवार
२०८१ असार २९ गते शुक्रवार

कोहलपुरमा भोली देखि एक हप्ता सम्म लकडाउन

फाइल तस्वीर ।

समुदायस्तरमै तिब्र रुपमा कोरोना संक्रमण फैलिएपछि बाँकेको कोहलपुरमा आइतबारदेखि एक साताका लागि ‘लकडाउन’ गरिने भएको छ । कोरोना संक्रमण समुदायमा तीव्र रुपमा बढ्दै गएपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्नकालागि ‘लकडाउन’ गरिने भएको हो ।
कोहलपुर नगरपालिकाको शनिबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले कोभिड नियन्त्रण तथा रोकथामका लागि कोहलपुर नगर क्षेत्रभर आइतबार राती १२ बजेदेखि एक साताकालागि ‘लकडाउन’ गर्नका लागि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अनुरोध गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिकाका मेयर एलबी रावतले जानकारी दिए ।
कोहलपुर नगरभित्र शनिबार बिहानसम्म कोरोनाका २६१ जना सक्रिय संक्रमित रहेको जानकारी दिदै उनले कोरोना संक्रमणको जोखिमलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि तत्कालका लागि लकडाउन नै उत्तम विकल्प देखिएकाले ‘लकडाउन’ गर्नका लागि सिडिओ समक्ष अनुरोध गरिएको बताए ।
कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको छ । नेपालगन्जमा एक हप्ते लकडाउन जारी छ ।