फाइल तस्वीर ।
कोरोना भाइरस संक्रमणका कारण दाङकी ७४ बर्षीया महिला सहित बाँकेमा थप ३ जनाको मृत्यु भएको छ । तुलसीपुर उप महानगरपालिका ९ की ७४ वर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । उनको बैशाख १२ गते कोभिड आशंकामा नेपालगन्ज मेडिकल कलेजमा पीसीआर परिक्षण गरिएको थियो । संक्रमण पुष्टि भएपछि हिजो बैशाख १३ गते मेडिकल कलेजमै भर्ना गरि उपचार सुरु गरिएको भएपनि उनको स्वास्थ्यमा सुधार नआउँदा आज बिहान ६ः २० बजे मत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै दाङकी महिला सहित संक्रमित बिरामीहरुको उपचार हुदै आएको नेपालगन्ज मेडिकल कलेजमा २ जना र भेरी अस्पताल नेपालगन्जमा एकजना गरि तीन जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो । नेपालगन्ज उपमहानगरपालिका – ३ बाँकेका २६ वर्षिय पुरुष, कोहलपुर नगरपालिका – १ का ६० वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या आएपछि बैशाख १२ गते नेपालगन्ज मेडिकल कलेजको प्रि आइसोलेसनमा भर्ना भएका नेपालगन्ज ३ का २६ वर्षिय पुरुषको हिजो १३ गते पीसीआर परिक्षण गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको हिजो राती ८ : ३० बजे मृत्यु भएको फोकलपर्सन ओलीले जानकारी दिनुभयो ।
त्यस्तै कोहलपुर १ का ६० वर्षिया महिलाको स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेजमा बैशाख १० गते पीसीआर परिक्षण गरिएको थियो । संक्रमण पुष्टि भएपछि बैशाख ११ गते भेरी अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको भएपनि उहाँको आज १४ गते मंगलबार बिहान २ः ४० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
योसँगै बाँकेमा कोभिड उपचारका लागि जिल्ला बाहिरबाट आएका १०६ जना र बाँके जिल्लाकै ९२ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् ।