२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

जसपालाई सरकारमा जाने बाटो खुल्यो

सरकारले जनता समाजवादी पार्टीका १ सय २० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारको निर्णयसँग जसपालाई अब सरकारमा जाने बाटो खुलेको छ । यद्यपि जेलमा रहेका सांसद रेमश चौधरीलाई रिहा गर्नुपर्ने माग सम्बोधन गर्न भने सरकारले ढिलासुस्ती गरिरहेको बताएको छ । जसपाले २ सय २० जना नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनका लागि सरकारलाई नामावली बुझाएको थियो ।

सरकारले झन्डै आधाभन्दा बढी नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेर जसपालाई सरकारमा जाने बाटो खोलिदिएको छ । जसपाले मधेस आन्दोलनयता आफ्ना नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता हुनुपर्ने मागलाई पहिलो एजेन्डा बनाउँदै आएको छ ।
जसपाका एक नेताले विगतको सरकारले मुद्दा फिर्ता लिने प्रतिबद्धता जनाएर पनि नगरेको र अहिलेको सरकारले आफूहरूको माग सम्बोधन गरेकाले स्वाभाविकरूपमा सरकारमा जाने आधार बनेको बताएका छन् । जसपाका नेता राजेन्द्र महतोले भने सरकारले माग सम्बोधन गर्न शुरु गरेकोमा प्रशन्नता व्यक्त गर्दै भन्नुभयो– ‘अझै माग पूरा गर्न बाँकी छ, हेरौं सरकारले बाँकी माग के गर्छ ? ’प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार गठनको गृहकार्य अगाडि बढाइरहेकै बेलामा प्रधानमन्त्री ओलीले जसपालाई आफूतिर तान्नका लागि नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गर्नुभएको हो ।यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।