२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

निषेधाज्ञामा सरकारी कार्यालय र बैङ्क पनि बन्द हुने

दाङमा आजदेखि बैशाख २५ गते बेलुकी ६ बजेसम्म जारी रहने निषेधाज्ञाको समयमा सरकारी कार्यालय र बैङ्क समेत बन्द रहने भएका छन् ।
निषेधाज्ञाका कारण दाङका मुख्य बजार घोराही, तुलसीपुर, लमही, भालुबाङ, नारायणपुर, हापुरे, रगैंजा लगायतका बजार सुनसान देखिन्छन् । यातायातका साधन नचल्दा सडक पनि सुनसान भएका छन् । अत्यावश्यक बाहेक सवै क्षेत्र बन्द रहने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
निषेधाज्ञा अवधिभर अति आवश्यकीय सामान खरिद बिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पसलहरु खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालय मार्फत अनुमति लिनुपर्ने व्यवस्थापन गरिएको छ ।
कोरोना महामारीले मानिसमा सङ्क्रमणको दर बढ्दै र सङ्क्रमितको मृत्युदर पनि बढ्दो अवस्थामा रहेपछि जिल्ला प्रशासन कार्यालय दाङले ९ दिनसम्म निषेधाज्ञा सुरु भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभयो । बैशाख १४ गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।